Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 006 – Meri Lachchhin Ki Jahan

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 006 – Meri Lachchhin Ki Jahan

कोठामा कसरी पसूँ, नजरकी श्रृङ्गार छैनौ तिमी
यत्रो शोक कहूँ कहाँ, हृदयकी आधार छैनौ तिमी
कोठामा अघि भर्खरैतक थियौ बोलीरहेकी तिमी
छैनौ कसरी भनूँ ! हृदयमा खेलीरहेकी तिमी


मेरी लच्छिनकी जहान ! घरमा बल्दैन बत्ती अब
बत्तीनेर मुहार चारु भरिलो पर्दैन देखा अब
सन्तोषी मुखमा सुखी हृदयको झल्किन्न माया पनि
भित्तातर्फ कपालको गुजमुजे पर्दैन छाँया पनि

मैले यो परदेशमा घर त्यसै बिर्सीसकेको थिएँ
आमाको टुहुरो थिएँ, प्रिय सखी पाईसकेको थिएँ
मेरा सुन्दर शान्ति, कान्ति सुघरी, डेरा थियो यो कुटी
हे सन्तोष गरिबकी ! गइसक्यौ मेरी तपस्या उठी

कल्ले लिन्छ गुप्त गर्व मनमा, मैले गरुँ पौरख
कल्लाई सुखिनी बनाउन भनी मैले उठाऊँ दुख
कल्लाई सँगमा लिएर अब यो सारा गृहस्थी गरुँ
छातीमा प्रतिमा लिएर उनकै बाँचूँ कि यद्वा मरुँ

मेरो मान बचाउँथ्यौ बरु तिमी आफु नजाती बनी
दिन्थ्यौ खान मलाइ रे कति कुरा आफु नखाई पनि
राख्यौ क्या सुखमा मलाइ, दुखमा आफु रहेरै पनि
राख्यौ मैँ कमजोरलाइ, बलियी आफु गएरै पनि

मेरो रोक्दछ व्यर्थ खर्च कसले, को लिन्छ साँचो अब
खाँचो टार्दछ मुस्कुराइ कसले साँचोमुचोले अब
मेरो इज्जत उघ्रियो, तनु चुँड्यो, उम्टन्छ कल्ले अब
लापर्वाह मलाइ गर्छ गहिरो पर्वाह कल्ले अब

कोठाका सब मालतालहरुमा तिम्रो कला बोल्दथ्यो
मेरो भावुक काव्यको लहरमा तिम्रो गला बोल्दथ्यो
तिम्रो यो घरकाज विश्वभरको दृष्टान्त मेरो थियो
जो गथ्र्यौ सजिलै तिमी, असजिलो सिद्धान्त मेरो थियो

तिम्रो आकुल केशवेश, घरको सौन्दर्य मेरो थियो
तिम्रो निर्मल चालमाल, मनको माधुर्य मेरो थियो
तिम्रो सोचविचार दुःखसुखको चातुर्य मेरो थियो
तिम्रो त्याग घरै थियो, पर त्यही औदार्य मेरो थियो

छन् छोरी टुहुरी, बनेँ विधुर हा !– आमा रानी गयौ
छन् दुःखी परिवार आज दुइटैछोरी बुहारी गयौ
छोटो जीवनमा यहाँ कति महान् छोडेर माया गयौ
संसारै नि शून्य ! चार दिनकी हे रामछाया ! गयौ

मेरो बाहिरको थकाइ घरमा हर्ला नि कल्ले अब
केही भो कि मलाइ आँसु गहमा भर्ला नि कल्ले अब
खेपी जीवनका अनेक खतरा को हाँस्छ आफूसित
बाटैमा सँगिनी थला परि ढल्यौ, जाऊँ कहाँ कोसित

संसारी सब दुःखलाइ तिमीले संम्झ्यौ कसोरी सुख
माया हो कि दया मलाइ मनमा लाग्थ्यो नि देख्दा मुख
जल्ले जीवन सुम्पियो उसको भारा तिरुँ के गरी
सेवाको बदला नलीकन गयौ हे राजराजेश्वरी

सोझो सज्जन सद्गुणी छु भनी भन्छन् सबै मानिस
आफ्नो चिन्दिनँ दोष, होश खरो, मेरो लाटो रिस
यो मेरो कमजोर भाव कसले जानेर हाँसी सह्यो
मान्छे भन्नु तिमी थियौ, गइसक्यौ, कल्ले चिन्यो, के भयो

दासी भैकन स्वामिनी बनिदियौ आएर मेरो घर
हाँस्थेँ बाहिर लाग्दथ्यो मनमनै तिम्रो मलाई डर
छाया भैकन जो घुस्यौ हृदयमा माया बन्यौ आखिर
मान्छेबाट उठेर दिव्य पदमा देवी बन्यौ आखिर

छन् तिम्रा अनुहार कति सखी, पृथ्वीभरी छौ तिमी
छन् तिम्रा गहना लुगाहरु अझै, कोठाभरी छौ तिमी
छन् माया, ममता मोह, महिमा, छातीभरी छौ तिमी
छन् छोरीहरु बिर्सुँला नि कसरी, आत्माभरी छौ तिमी

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts