Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 002 – Hey Narayan Ke Bhayo

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 002 – Hey Narayan Ke Bhayo

पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा
निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा
फारी बादल शैलको शिखरमा तारा उदाइन् अब
आई विष्णुमतीपवित्र तटमा मेरी निदाइन् अब


कस्तो शान्ति रातको पहरा रातै घुसको सरि
रोकि श्वास मसानमा शिवको छाया बसेको सरि
गङ्गा खालि सुसाउँछिन् बगरमा नाना बिलौना गरी
टाढा रोइरहेछ एक बटुवा साथी छुटेको सरि

मान्छे हो, अहिल्यै अमङ्गल अहो ! भन्छौ मलाई किन
यै कालो निशिमा छिपाइ मुख यो देओ मलाई रुन
हे नारायण के भयो ! जुन कुरा भन्थेँ नहोस्, त्यै भयो
छैनौ हे सँगिनी ! तिमी कि अहिले संसार नै छैन यो !

बेहानीपख जो उठेर बटुवा चल्छन्, तिमी चल्दिनौ
यत्रो खल्बलपूर्ण भूमितलमा खाली तिमी बोल्दिनौ
धारामा जल जो भरेर युवती हाँस्छन् तिमी हाँस्तिनौ
तिम्रै मात्र भयो के ? सब जना बाँच्छन् तिमी बाँच्दिनौ

हे गौरी ! अब हेर्दिनौ हकि तिमी ब्यूँझी उज्यालो दिन
मैले देख्नुपर्यो नि आज भुइँमा मेरी नभाको दिन
बाँचेरै यतिसम्म, एक छिनमै के जिन्दगी सिद्धियो
मेला आज उठ्यो विशाल उनका लेखा जगत् सिद्धियो

तिम्रो अन्तिमको शिँगार सँगिनी ! कात्रो कसोरी भनूँ
तिम्रो निम्ति दिइन्छ पात्र जुन त्योटीलोकसोरी भनूँ
गाली होइन, किन्तु भन्नु कसरी यो अन्न बुर्की भनी
मुर्दानीर्, कसरी भनूँ, जुन तिमी मेरी थियौ जीवनी

यत्रो लोक कहाँ गयो, जब तिमी एक्लै गयौ घाटमा
चिम्ल्यौ लोचन अन्धकारबिचमा आषाढको रातमा
के भो लोक चिनेर, फेरि ममता मेरो लिएरै पनि
हा अज्ञान, अभाव, भूलहरुमा तिम्रो गयो जीवनी !

अउन्नन् अब हे नहेर, चुचुरा ! गौरी पखेरामनि
गाउन्नन् अब गाउँका युवति हो ! गौरी छहारीमनि
बर्सी जा पहाडमा खबर यो लैजा रुँदै बादल
घर्पेटी ! अब शान्तिलाई भनिद्यौआमा गइन् मावल !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts