Laxmi Prasad Devkota – Atithi Haru

Laxmi Prasad Devkota – Atithi Haru

.
दूरदेशका आए अतिथि
भारतसागरका यी दूत !
लच्की आए, मुस्की आए,
चिरपरिचित झैं, किरणप्रसूत !
पथ जानेका मेरा घरको
नील अचलका चुली वार !
आए, आए !
मेरा स्वदेशी नीलिभ वनतिर
जल कोमल छन्, चुहिन तयार!


.
ज्येष्ठ मासको ज्वलन निभाउन,
ताप सियालन आए ती
क्लान्त मेरो एकान्त मिटाउन,
समय बियालन आए ती
चढ्छन् हात्ती, चढ्छन् घोडा
सहृद् सुकोमल बहुआकार !
पुष्पपीडा दिलका बुझ्छन् !
पङ्ख फिंजार्दा,
हृद्रस झार्दा,
वाष्परुपिणी करुणाका यी,
पानीभार !

.
के, के ल्यायौ ? सलिलसँगी हो !
कोमल, कोमल ऊन सरि !
रत्ननिधिले सम्झन्छन् के
स्थलदरिद्री पापीहरुकन,
शुष्कहरुकन, माया गरी ?
अध्यात्मजगत्का प्रखर खडेरी,
वर्षी, मेट !
मानवताका शुष्क जराहरु
मर्नै आँटे यस उपवनमा,
घुस्दै भेट !
शुष्क निर्धन जगत् धनी गर,
पन्ना किन्ने मोती फाल !
सधूली नभ यो रुग्ण , नग्न ,
धोऊ, पखाल !
साँझबुना पोशाक उज्यालो,
सुन्दर शैली,
यसमा हाल !
ज्वलित जगत्का उद्धारक !
वरुणदेवका करुण छाया !
समवेदना थलसँग जलका !
मानवताझैं कवि हृन्नभमा
छाउँदा हलुका !
ऋतुक्रम स्मृति अतट विपुलका !
युगचक्रका झैं झिल्का !
कोही परम करुण उतातिर !
क्या माया !
जलट हो ! फैली, फैली,
छाया डाल !
दायाँ बायाँ !

.
अतिथिहरु हो पाद पवित्र
कविदृगजलले धुन देओ !
कोमलका आत्माहरु हो !
कल्पनाका हात नरमले
नरम पखेटा छुन देओ !
अरुका दुःखका पग्ली मिट्ने !
दर्शन पाएँ, रुन देओ !
कसरी अस्थि पवि परिणत छन्
सङ्घर्षहरुमा भनिदेओ !
कसरी पुनरुद्दीपित भू हुन्
गाई, ताली गनिदेओ !
महापुरुषका नाटक गर, झर !
प्रेरक भावका जुनि लेओ !

.
दृश्यपटमा कलिलो रङ्गले
छोई आयौ बादल हो !
करुणा जन्मी तिम्रा सँगमा !
वसुन्धराले घायल हो !
शहीदहरुका हृदय तिमी होऊ,
बलिदानका पागल हो !
स्वर्गका हे श्रृङ्गारहरु हो !
दिवसप्रभाका गाजल हो !

.
आज मुजूर भो मन बहुरङ्गी !
त्यसमा वाणी मुदित चढिन् !
रोमहर्ष भै, प्रकृति तिम्रो
सन्देश गीतिका निम्ति अडिन् !
बोल, बोल, मेरा अतिथि !
पुनरुद्दीपन राग ! झर !
मरमिटको जलसङ्गीत मनोहर
कविआत्माको तृप्ति गाराई
छर , छर !
अविश्लेष्य, अनिर्वचनीय, अनुपम,
आनाकधरा, व्यापक, महान्,
महामधुर एक सङ्गीत जगत्को,
जो हो अविरल, निश्छल, अविकल,
विकासउज्यालो बलिदान !

.
अतिथि तिमीहरु घर घर गर्दै
जल बन्दिन्छौ पग्ली प्राण !
शून्य गगनमा सब कुर्वान !
बर्षिरहन्छौ, बर्षिरहन्छौ,
मानव दिलमा तर हे निरन्तर !
बर्षिरहन्छौ अनजान !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts